तिमीलाई खोज्दाखोज्दै

एकपल्ट भनिदेऊ मलाई

तिमी कहाँ छ्यौ ।

तिम्रो सम्झना आउँदा सम्झनुपर्ने तिमी कहाँ छ्यौ ?

तिमीलाई छुन मन लाग्दा छुनुपर्ने तिमी कहाँ छ्यौ ?

कहाँ छ्यौ तिमीलाई प्रेम गर्न मन लाग्दा प्रेम गर्नुपर्ने तिमी ?

के गरूँ ?

तिम्रो आत्माको मन्दिर बनाऊँ र घण्टी बजाइरहूँ,

आकारबिनाको गुम्बा बनाऊँ र ध्यानस्त रहूँ,

या एउटा अदृष्य प्रेममहल बनाऊँ र त्यसैभित्र निदाइरहूँ?

तिमीले आफू भनेको तिमीलाई

प्रेम गर्न चाहन्छु म ।

तिमी शरीर हैनौ भने

किन सिँगारिरहूँ म दृष्यहरूलाई तिम्रा आखाँका लागि?

किन बढारिरहूँ तिम्रा पाउ हिँडने बाटाका काँडा ?

कोमल किन बनाइरहूँ तिम्रा हातले छुने चिजहरूलाई ?

किन छेकिरहूँ तिम्रा कानतिर आउँदै गरेका कर्कश आवाजहरू ?

फूलमा सुवास किन पोखिरहूँ ?

कसका लागि भरूँ म स्वाद आफ्ना ओठहरूमा ?

यो मिथ्या जगतलाई आफूभित्रै भरेर फैलिएको

भ्रमको यस परिधीबाट बाहिर निस्किएर

प्रेम गर्न चाहन्छु तिमीलाई ।

बस्, एकपल्ट बुझाइदेऊ।

तिमी

मन, मष्तिस्क र आत्मा मात्र हौ भने

तिमीमा समाहित हुन चाहँदा

कहाँ गएर विलिन हुनु म ?

#NepaliPoetry #Poetry #SumanPokhrel #कवत #नपलकवत #কবত #समनपखरल

    0